साँगुरीगढी । ७४ वर्षीय डम्बरबहादुर बस्नेतका लागि तमोर नदी कुनै समय जीवनको हिस्सा मात्र थिएन, त्यो उनको साथी जस्तै थियो। नदीको किनारमै बितेका वर्ष, पुल नजिकैको सडक किनारमा चलाएको व्यवसाय र पारि रहेको खेती—उनको दैनिकी तमोरको बहावसँगै अघि बढ्दै आएको थियो।
तर अहिले त्यही तमोर उनलाई डराउन थालेको छ।
विगत २४ वर्षदेखि तमोर नदीको किनारलाई आश्रयस्थल बनाउँदै आएका बस्नेत बुधबार आफ्नै घरमा भेटिए। नदी किनारमै पसलसहितको घर छ। लेउती खोला पारि खेती छ। वर्षायाममा तमोरको पानी बढ्नु उनका लागि नयाँ कुरा होइन। नदी सुसाउँदै आउँदा उनी त्यसलाई सामान्य रूपमा लिन्थे।
तर रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उनको मन बदलिएको छ।
‘तमोर सुसाएर आउँदा आनन्द लाग्थ्यो, तर अहिले कुन बेला छाडेर हिँड्नुपर्ने हो पत्तै छैन,’ उनले भने, ‘जीवनको उत्तरार्द्धमा छौँ। डराएर पनि कहाँ जाने? रसुवामा बाढी आएको देख्दा त कुन बेला मरिने हो पत्तै छैन। प्राकृतिक विपत्तिसँग नडराएर पनि त हुँदैन।’
भोटेकोसीको घटनाले हिमाली क्षेत्रबाट बगेर आउने नदीहरूको तटीय क्षेत्रमा बस्ने नागरिकको मनमा नयाँ किसिमको भय जन्माइदिएको छ। नदीसँगै जीवन बिताएकाहरू अब नदीको बहाव मात्र होइन, माथिल्लो भेगमा हुनसक्ने हिमताल विस्फोट, पहिरो र आकस्मिक बाढीको सम्भावनासमेत सोच्न थालेका छन्।
नदी किनारमै जन्मे, नदीसँगै व्यवसाय
तमोर किनारमा उखुको जुस पसल सञ्चालन गर्दै आएकी निशा लुइँटेल र उनका दिदीबहिनीको कथा पनि उस्तै छ।
निशाको परिवार उनी जन्मिनुभन्दा अघिदेखि नै तमोर किनारमै बस्दै आएको हो। नदी उनीहरूका लागि घरको आँगनजस्तै बनेको छ।
पाँचै जना दिदीबहिनी—सरस्वती, निशा, माया, कोपिला र करुणा—तमोर किनारमा आ–आफ्ना व्यवसाय र पसल सम्हालेर बसेका छन्।
तर अहिले उनीहरू मानसिक रूपमा जुनसुकै बेला त्यहाँबाट भाग्नुपर्ने अवस्थाका लागि तयार छन्।
बाहिरबाट हेर्दा नदी किनारका साना पसल, कटेरा र घरहरू सामान्य देखिन्छन्। मानिसहरू आफ्नै दैनिकीमा व्यस्त देखिन्छन्। तर उनीहरूको मनभित्र भने हरेक क्षण बाढीको त्रास दौडिरहेको हुन्छ।
‘तमोरमा पानीको सतह बढ्दै जाँदा र डाँडाबाट भल खस्न थाल्दा राति निन्द्रै पर्दैन,’ डम्बरबहादुर भन्छन्।
रसुवाको घटनापछि यो त्रास झनै गहिरिएको छ। रातमा नदी ठूलो आवाजले सुसाउँदा उनीहरू झस्किन्छन्—कतै बाढी बस्तीमै त छिरेन?
‘भोटेकोसीमा जस्तै भयो भने?’
तमोर किनारका बासिन्दाको सबैभन्दा ठूलो डर यही प्रश्न हो।
भोटेकोसीमा आएको अप्रत्याशित बाढीले केही क्षणमै बस्ती, बजार र संरचना बगाएको दृश्य उनीहरूले देखेका छन्। बाढीले बगाएर बेपत्ता भएकाहरूको खोजी र उद्धार अझै जारी छ।
त्यसैले हिमालबाट बगेर आउने नदीको तटीय क्षेत्रमा बस्ने मानिसका लागि भोटेकोसीको घटना एउटा टाढाको विपत्ति रहेन। त्यो आफ्नै घरको सम्भावित भविष्यको चेतावनीजस्तो बनेको छ।
यदि तमोरको माथिल्लो भेगमा हिमताल फुट्यो भने?
यदि ठूलो पहिरो खसेर नदी थुनियो र एकैपटक फुट्यो भने?
यी प्रश्नको कल्पना मात्रले पनि नदी किनारमा बस्ने नागरिकको आङ सिरिङ्ग हुन्छ।
तमोरको पानी सामान्य रूपमा बढ्दा पनि डर लाग्न थालेको छ। राति नदीको आवाज असामान्य सुनियो भने निद्रा खुल्छ। बाहिर निस्केर पानीको सतह हेर्नुपर्ने बाध्यता हुन्छ।
जोखिममा कोसी प्रदेशका हजारौँ परिवार
यो डर केवल व्यक्तिगत अनुभूति मात्र होइन। अध्ययनहरूले कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रबाट बग्ने नदीका तटीय बस्तीहरूमा गम्भीर जोखिम रहेको देखाएका छन्।
विश्वव्यापी तापमान वृद्धिसँगै हिमताल पग्लिने र हिमताल विस्फोटबाट आउने बाढीको जोखिम बढिरहेको अवस्थामा कोसी प्रदेशका १० जिल्ला उच्च जोखिममा रहेको प्रदेश सरकारले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य प्रदेश कार्य योजना, २०८३’ मा इसिमोडको अध्ययनलाई उद्धृत गर्दै हिमाली तथा पहाडी क्षेत्रमा रहेका विभिन्न हिमताल विस्फोटको जोखिममा रहेको उल्लेख गरिएको छ।
अध्ययनअनुसार हिमताल विस्फोटबाट आउने बाढीका कारण प्रदेशका विभिन्न क्षेत्रमा १२ हजार ७०६ घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ।
त्यसमध्ये तमोर नदीको जलाधार क्षेत्र पनि जोखिमयुक्त क्षेत्रका रूपमा देखिएको छ। तमोर नदी जलाधारमा मात्रै चार वटा हिमताल उच्च जोखिममारहेको अध्ययनले देखाएको छ।
तापक्रम बढ्दै जाँदा हिमताल पग्लिएर पानीको सतह बढ्ने भएकाले विशेषगरी जेठदेखि असोजसम्म हिमताल विस्फोटको सम्भावना बढी रहने बताइएको छ।
सुनसरीदेखि ताप्लेजुङसम्म जोखिम
हिमताल विस्फोटबाट आउने बाढीले तमोरसँग जोडिएका तल्लो तटीय क्षेत्रका विभिन्न स्थानीय तह प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
उपलब्ध विवरणअनुसार तमोर नदीको तटीय क्षेत्रमा पर्ने सुनसरीका दुई स्थानीय तहका ४ हजार १११ घरपरिवार जोखिममा छन्। उदयपुरका दुई स्थानीय तहका ३ हजार ५६२ घरपरिवार समेत जोखिममा रहेको देखिन्छ।
त्यस्तै ताप्लेजुङका पाँच स्थानीय तहका १ हजार १३१ घरपरिवार, पाँचथरका तीन स्थानीय तहका १३८ घरपरिवार र धनकुटाका दुई स्थानीय तहका ८० घरधुरी हिमताल विस्फोटबाट आउन सक्ने बाढीको प्रत्यक्ष जोखिममा रहेको विवरणमा उल्लेख छ।
अर्थात् जोखिम हिमाली क्षेत्रमा मात्र सीमित छैन। माथिल्लो भेगमा हुने घटनाको असर नदीसँगै सयौँ किलोमिटर तलसम्म पुग्न सक्छ।
हिमालदेखि सप्तकोसीसम्मको जोखिम
तमोर नदीको उत्पत्ति ताप्लेजुङमा रहेको कञ्चनजंघा हिमशृङ्खलाबाट हुन्छ। हिमाली क्षेत्रको अत्यधिक उचाइबाट तीव्र गतिमा तल झर्ने तमोर ताप्लेजुङ, तेह्रथुम, पाँचथर र धनकुटा हुँदै बग्छ।
धनकुटाको त्रिवेणीघाटमा तमोर, अरुण र सुनकोसी नदीको संगम हुन्छ। तीन ठूला नदीको मिलनपछि संयुक्त जलप्रवाह सप्तकोसीका रूपमा अघि बढ्छ।
यसैले तमोरमा माथिल्लो क्षेत्रमा उत्पन्न हुने विपद्को प्रभाव केवल नदी किनारमा सीमित हुँदैन। त्यसको असर तल्लो तटीय क्षेत्रमा रहेका बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा समेत पुग्न सक्छ।
नदीसँगको सम्बन्ध अब डरमा बदलिँदै
डम्बरबहादुरका लागि तमोर अझै पनि जीवनको आधार हो। निशा र उनका दिदीबहिनीका लागि पनि यही नदीसँग जोडिएको व्यवसाय नै जीविकाको माध्यम हो।
उनीहरू नदी छाडेर कहाँ जाने भन्ने प्रश्नको उत्तर उनीहरूसँग छैन।
तर नदीसँगै बसिरहँदा अर्को प्रश्नले सताइरहेको छ—कुनै दिन नदीले नै घर, व्यवसाय र जीवन सबै बगायो भने?
भोटेकोसीको विनाशले तमोर किनारका बासिन्दालाई यही प्रश्न सोध्न बाध्य बनाएको छ।
नदी किनारका बस्तीमा अहिले देखिएको त्रास केवल एउटा बाढीको स्मृति होइन। यो हिमाली क्षेत्रमा बदलिँदो जलवायु, बढ्दो हिमताल जोखिम र जोखिमयुक्त स्थानमा पुस्तौँदेखि बसोबास गर्दै आएका समुदायको भविष्यसँग जोडिएको चेतावनी हो।
डम्बरबहादुरको भनाइमा, तमोर अझै उही नदी हो। फरक यति हो—पहिले नदी सुसाउँदा जीवनको संगीत सुनिन्थ्यो, अहिले त्यही आवाजमा सम्भावित विपत्तिको संकेत सुनिन थालेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्