महोत्तरी, १८ चैत । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका मेयर संजिव सिंहले दावी गरेका छन् । महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।
हराएका बालिका भेटिएको अपुष्ट खबरपछि प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको टोली सीतामाढीतर्फ लागेको छ । टोली केहीबेरमै सीतामढी पुग्नेछ । महोत्तरीका एसपी दिनेश आचार्यले जहाँबाट पनि बालिका र किशोरीहरुलाई खोजेर ल्याइदिने आश्वासन परिवारलाई दिनुभएको छ । सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका अभिभावकको भनाइ छ । “सबै हाँस्दै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो”, अस्मिताका पिता बद्री पासवानले भन्नुभयो, “घरमा कुनै भनाभन वा रिसाउने केही भएको थिएन ।”
सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन् । तीमध्ये नगिनास कृष्णा पासवान, सीमास देवनन्दन पासवान, ज्योतिस बिसुन पासवान, रियास ज्ञानकुमार पासवान र रचनास अरविन्द पासवानका छोरी भएको खुलेको छ । सात छोरीचेली समूहमा एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी मच्चिएको छ । हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदन गरेकी पिता बद्रीको भनाइ छ ।
“घरको गरिबी छोरीले बुझेकी थिई, जागिर गरेर पाल्छु भन्थी”, बद्रीले गहभरि आँसु पार्दै भन्नुभयो, “त्यही छोरी हराउँदा अब मन राख्ने ठाउँ नै देखिन्न ।” धर्मपुरको दलित बस्तीका अभिभावक आफ्ना छोरीचेलीको खोजी गरिदिन अहिले सान्त्वना दिन पुग्ने सबैसँग हात जोडेर अनुनयविनय गरिरहेका देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्