काठमाडौं, ६ पुस । असार १ गते सम्पन्न भएको कक्षा ११ को परिक्षाको नतिजा पुसको तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परिक्षा बोर्डले तयारी गरेको छ । विविध कारणले पटक पटक परिक्षाको मिति सारिदै असार १ गते सम्पन्न भएको परिक्षाको नतिजा सार्वजनिक गर्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउदै ढिलाइ गरेको हो ।
राष्ट्रिय परिक्षा बोर्डले उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जनाएको छ । ढिलोमा पुसको तेस्रो सातासम्ममा परिक्षाफल सार्वजनिक गर्ने गरि काम भइरहेको बोर्डले जनाएको छ । नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा परीक्षाफल प्रकाशित भएको एक महिनामा आउने मौका परीक्षा, त्यसपछि कक्षा १२ को परीक्षा, शिक्षाशास्त्र पढ्नेहरुको त्यही बीचमा पर्ने एकमहिने टिचिङ प्राक्टिस जस्ता कारणले विद्यार्थीको पढाइमा धेरै बोझ थपिने भए पनि बोर्डले यसतर्फ ध्यान नदिएको विद्यार्थीले गुनासो गरेका छन् ।
बोर्डका कर्मचारी र कापी परीक्षण गर्ने शिक्षक, सम्परीक्षण गर्ने प्राध्यापक चुनावमा खटिँदा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए । यसअघि गत मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो । आंशिक परीक्षामा एक लाख एक हजार ३७५ विद्यार्थी सहभागी भएकामा ३६ हजार ७४ जना अर्थात् ३५.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
प्रतिक्रिया दिनुहोस्