कालिकोट,८ पुस । प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी विवेक ऐडीका आफन्त र स्थानीयबासिन्दाले प्रदर्शन चर्काएपछि कालिकोटमा कर्फ्यु घोषणा गरिएको छ ।
मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गर्दै बिहानैदेखि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।
प्रदर्शन चर्किदै गएपछि अवस्था नियन्त्रणबाहिर जान नदिन आज दिउँसो ४ बजेदेखि भोलि बिहानसम्म कर्फ्यु घोषणा गरेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रशासनले कर्फ्यु घोषणा गरेपछि कालिकोटको मान्म बजारमा कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ । कम तलब पाएको भन्दै हिजो दिउँसो म्यादी प्रहरीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सान्नी त्रिवेणी गाउँपालिका ४ का विवेक ऐडीको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् । मृतक ऐडीको शब जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । मृतकका आफन्तले शब बुझ्न नमानेपछि क्षेत्रीय प्रशासक सुरेश प्रधानसहित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, क्षेत्रीय प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको क्षेत्रीय प्रमुखबीच छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्