हुमाकान्त पोखरेल
गुल्मी,९ पुस । गुल्मीमा पहिलो पटक ‘होमस्टे महोत्सव’ हुने भएको छ । मुसिकोट नगरपालिका ६ कुर्घा स्वाँरामा रहेको गुरुङ्ग समुदायको आयोजनामा १० पुसदेखि १३ गतेसम्म होमस्टे महोत्सव हुँदैछ । २०६८ सालदेखि स्वाँरा होमस्टे संचालनमा आएपनि प्रचार प्रशार र जगर्ने गर्ने उद्देश्यले प्रथम होमस्टे महोत्सव गर्न लागिएको आयोजक सदस्य कुल बहादुर गुरुङ्गले जानकारी दिए ।
महोत्सवमा पुराना शैलीमा निमार्ण भएका करिव एक सय घरहरु सगै गुरुङ्ग समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत र साँस्कृतिक झाँकीहरु स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती तथा विभिन्न खेलकुद महोत्सवका मुख्य आकर्षण रहने छन् ।
होमस्टेमा स्थानीय स्तरमै उत्पादित खानाका परिकारहरु खान पाईनुका साथै गुरुङ्ग परिकार कोदोको ढिडो, सिस्नो, गुन्द्रुक, कुरिलो, आलु, पिडालु, गाउँमै उत्दपादन गरेको आर्गानिक खाना पाईने छ । प्रचार प्रशारको अभावमा तथा स्तरिय सडक नहुनु लगायतका कारण बाह्य पर्यटकहरु कम मात्रै उपस्थित हुने गरेका भएपनि महोत्सवपछि पर्यटकको आगमन बढने आयोजकले दावी गरेको छ ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार स्वाँरा होमस्टेका लागी मात्र यो बर्ष २० लाख बिनियोजन गरिएको छ । समृद्ध मुसिकोट नगरपालिकाको सपना कृषी र पर्यटनबाटै पुरा गर्न सकिने भएकाले मालिका र स्वाँरा होमस्टेको विकासका लागि थप योजनाका अगाडी सारिने उनले बताए । ‘नगरपालिकामा गर्नैपर्ने कामहरुको नक्सांकन भैसकेको छ,’ उनले भने,‘ स्वाँरा गाउँको गुरुङ्ग होमस्टे हामीहरुको प्राथमिकतामै पर्छ, मर्न दिदैनौ ।’ होमस्टे मात्र नभएर पर्यटन प्रर्वद्धनको निम्ती धेरै योजनाहरु कार्यान्वयनको चरणमा रहेको सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्