काठमाडौ, ११ पुस । वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सरकार निमार्णमा संघीय फोरम निर्णायक शक्तिको रुपमा देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक–अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् । ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली यादव भेटको बचाउ गरे ।
बाबुराम पनि बालकोटमा
नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्