काठमाडौं,२० पुस । काठमाडौ उपत्यकामा धेरै धुवाँ फाल्ने थोत्रा गाडीकै कारण उपत्यकामा प्रदूषण बढ्दै गएकाले सरकारले त्यसविरुद्ध सक्रियता बढाएको छ । आगामी बैसाखदेखि प्रदूषण मापदण्ड पालना नगर्ने सवारीसाधनलाई उपत्यका प्रवेशमै रोक लगाइने भएको छ। सबै नाकामा प्रदूषण जाँच गरी मापदण्डमा फेल हुने गाडीलाई उपत्यकामा प्रवेश नगर्न नदिइने गरी यातायात व्यवस्था विभागले तयारी थालेको छ।
उपत्यकाको प्रदूषण नियन्त्रणलाई कडाइसाथ लागू गर्न थोत्रा गाडी प्रवेशमा रोक लगाउन लागिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ‘प्रदूषण टेस्ट गर्ने सात वटा सेट खरिदको प्रक्रिया अघि बढिसकेको छ, सेट आए पछि सबै नाकामा नियमित चेकजाँच हुन्छ, प्रदूषणसम्बन्धी मापदण्डमा फेल हुने सवारीसाधनलाई उपत्यका प्रवेश गर्न बाट बन्द गरिने भट्टराईले बताए ।
चारपांग्रे सवारी साधनले एकएक वर्षमा गाडी परीक्षण गराई हरियो स्टिकर लिनुपर्छ। तर, सम्बन्धित निकायहरु कमजोर हुँदा वर्षौंसम्म गाडी परीक्षण नगराई चलाउँदै आएका छन्। कतिपय गाडीको इन्जिन परिक्षण नै नगरी हरियो स्टिकर बिक्री हुने गरेको छ। पछिल्लो समय आस्कमिक रुपमा सडकमै जाँच हुन थालेपछि केही हदसम्म गाडीबाट हुने प्रदूषण कम भएको छ। जाँचमा फेल हुने सवारीसाधनलाई एक हजार रुपैयाँ जरिवाना गराइँदै आइएको छ।
सवारी थपिदै जाँदा राजधानीमा दिनप्रतिदिन वायु प्रदूषण बढिरहेको छ। तर, थोत्रा गाडीहरुको धुवाँले समस्या बढाएपछि त्यस्ता सवारीलाई नाकाबाटै प्रवेश रोक्न लागिएको हो। सरकारले २० वर्ष पुराना गाडीलाई हटाउने नीति पनि कार्यान्वयन सुरु गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्