इलाम, २२ पुस । राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले इलामका चार वटा युवा समूहलाई बिना ब्याजमा १० लाख दिएको छ ।
सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई २ लाख ५० हजार रुपैयाँका दरले ऋण दिइएको जिल्ला युवा विकास समितिका अध्यक्ष नवराज शंकरले बताउनुभयो ।
समितिले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्य अनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको हो । ऋणबाट १० जना युवा संलग्न रहेको समूहले सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ ।
परिषद्ले युवा उद्यमी उत्पादन गर्न सरकारको स्वीकृति र अनुदान लिएर जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । ऋण पाउने संस्थामध्ये चम्जलुङ उद्यमशील युवा विकास संस्थाले घरबास व्यवसाय, जनज्योति कृषि तथा पशुपालन समूह र सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन् ।
पहिलो किस्ताबापत २ लाख ५० हजार रुपैयाँ दिइएका समुहलाई एक हप्तामा २ लाख ५० हजार रुपैयाँ नै ऋण थप गरिने समितिका अध्यक्ष शंकरले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्