काठमाडौं, पुस २२। एमाले नेता लालबाबु पण्डितले राष्ट्रिय सभा निर्वाचनपछि पनि सत्ता हस्तान्तरणमा आनाकानी गरे प्रधानमन्त्री शेरबहादुर देउवालाई धकेलेर बाहिर फालिदिने घोषणा गरेका छन । जनमतलाई अपमान गर्ने काम सरकारबाट भइरहेकोले बाम गठबन्धन यस्तो निश्कर्षमा पुगेको पण्डितले बताए ।
शनिबार आयोजित कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्रीसमिेत रहेका एमाले पोलिटब्युरो सदस्य पण्डितले निर्वाचनपछि पनि प्रधानमन्त्री देउवा नेतृत्वको सरकार रुंगेर बसिरहे धकेलेरै बाहिर फाल्नुको बिकल्प नरहेको प्रष्ट पार्नुभयो ।‘हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालि दिन्छौं जनताको आदेश यही हो,’ पण्डितले भने ।
उनले देउवा सरकार देशका लागि बोझ बनिरहेको तथ्य पनि औल्याए । ‘प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् ।
कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माँग आईरहेको छ । यसलाई मैले अस्वभाविक मानेको छैन,’ पण्डितले भने , ‘सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्न कसैले रोकेको छैन, यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन ।’
प्रतिक्रिया दिनुहोस्