काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले देशभर राजनीतिक हलचल ल्याएको बताउनुभएको छ । कांग्रेसको ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ अन्तर्गत आज मंगलबार थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै नेता सिहले कांग्रेसको अभियानले देशभर राजनीतिक हलचल ल्याएको दाबी गर्नुभएको हो ।
नेता सिंहले कांग्रेसको प्रतिस्पर्धा कम्युनिस्ट पार्टीसँग हुने भएकाले सालिन व्यक्तिलाई प्रतिस्पर्धामा खरो उतार्न पर्नेमा जोड दिनुभयो । २०४६ को परिवर्तन पछि मुलुकको विकास जसरी हुनु पर्ने हो त्यो हुन नसक्नुको मुख्य बाधक नेकपा एमाले भएको समेत बताउँदै उहाँले नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनता सामु पुग्नु पर्ने बताउनुभयो । जनताको घर-घरमा पुग्दा सालिनता र नम्र व्यवहार देखाउन समेत कार्यकर्ताहरुलाई निर्देशन सिंहले निर्देशन दिनुभएको छ ।
स्थानीय निकायको चुनावमा पार्टीका उम्मेदवार सिफारिस र चयन पार्टी विधानअनुसार गर्नुपर्ने बताउँदै उहाँले विधानको व्यवस्थाभन्दा बढी सिफारिस गरेर आफू लोकप्रिय बन्ने र दोष अरु नेताको टाउकोमा थोपर्ने काम नगर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले काठमाडौंको संगठन बलियो भयो भने देश भरको संगठन बलियो हुने भन्दै अब काठमाडौंंले नै मुलुकको नेतृत्व गर्ने अवसर आउने भएकाले यो अवसर नगुमाउन पनि आग्रह गर्नु भएको छ । कांग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रन्जित, राजेन्द्र कुमार के.सी., काठमाडौं जिल्ला सभापति सबुझ बानियालगायतले कांग्रेसका उमेदवारहरुलाई जिताउन दिनरात नभनि खट्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्