काठमाडौँ, १८ चैत । मलेसियाले त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।
बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक/एक विकेट लिए । अहिले पपुवा न्युगिनी जवाफी व्याटिङमा उत्रेको छ । उसले १३ ओभरमा दुई विकेटको क्षतिमा ११८ रन बनाएको छ । जारी सिरिजमा नेपाल तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार चौथो खेल मलेसियासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्