काठमाडौं,३० पुस । आज बसेको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ ।
यता एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श गरेर टुंगोमा पुग्ने जवाफ दिएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार र आफूहरुले दुई मुख्यमन्त्री लिने प्रस्ताव गरे । यस्तै प्रदेशसभाको सभामुख भने आफ्नो दलले चार र एमालेले दुई मात्र दिने उसको प्रस्ताव छ ।
कार्यदलमा एक सदस्यले भने, ‘एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्ताव आएको छ ।’ राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने सहमती रहेको छ ।
कार्यदलका संयोजक सुवास नेम्वाङले शीर्ष नेताहरुसँग परामर्श गरेर सवै कुरा मंगलबार टुंगो लगाइने बताए । स्वास्थ्य उपचारका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश र्फकने कार्यक्रम छ भने सयुक्त कार्यदलको बैठक ३ गते बस्ने छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रारम्भीक प्रस्ताव आएको भन्दै बुधबार टुंगोमा पुग्ने बताएका छन् । ‘आज हामीले सिटहरुका बारेमा प्रारम्भीक छलफल र प्रस्तावहरु राखेका छौं र केही मापदण्डमा छलफल गरेका छौं’ बैठकपछि पुन भने, ‘सात वटै प्रदेशमा रहेको मतको अध्ययन गर्यौं । प्रदेश मुख्यमन्त्री, सभामुख उपसभामुखको के हुनसक्छ भनेर छलफल गरेका छौं ।’
प्रतिक्रिया दिनुहोस्