काठमाडौं, १ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको छ ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको हो ।नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० सय डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।
यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो ।मन्त्रालयले गत वैशाख १३ गते निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै सबै प्रकारका मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभी पनि आयात प्रतिबन्धको सूचीमा छन्।
प्रतिक्रिया दिनुहोस्