काठमाडौं, १५ भदौ । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ सोभियत युगका अन्तिम नेता मानिन्छन् ।
सोभियत संघको नेतृत्व गरिरहँदा गोर्बाचेभले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । कम्युनिष्ट सरकारले नेतृत्व गरेको अवस्थामा त्यसबेला सरकारको आलोचना गर्न रोक थियो । लामो समयदेखि रोगसँग लडिरहेका गोर्बाचेभको उपचारका क्रममा निधन भएको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्बाचेभको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गोर्बाचेभको निधनले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लेनले पनि गोर्बाचेभलाई स्वतन्त्र युरोपको मार्ग प्रशस्त गर्ने ‘विश्वसनीय र सम्मानित नेता’को रूपमा स्मरण गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्