काठमाडौं २५ पुस । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई ठूलो दलका कार्यकर्ता नभएका कारणले झुटा मुद्दा लगाएर जेलमा राखिएको बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा रन्जिताले चौधरी कांग्रेस, एमाले, माओवादीलगायत ठूला दलको कार्यकर्ता भएको भए मुद्धा नलाग्ने बताइन् ।
उनले थारु भएकै कारण चौधरीलाई मुद्दा लगाइएको र पाँच वर्षदेखि थुनेर राखेको बताइन्। उनले टिकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको समेत बताइन् । घटनास्थलमा नदेखिएका व्यक्तिलाई मुद्दा लगाउन नपाइने भएपनि जेलमा राखिएको बताइन् ।
रेशम चौधरी टिकापुर घटना हुँदा २१ किलोमिटर टाढा लम्कि चिसापारीको टावरको सम्पर्कमा रहेको उनको भनाइ छ । रञ्जिताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपीशर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरी निर्दोष भएको बताइसकेको बताइन् । तर, पनि किन जेलमा नै राखिएको भन्दै न्याय मागिन् ।
“आखिर निर्दोष नागरिकलाई किन जेलमा नै राखिरहने रु निर्दोष थारुलाई किन जेलमै राखिरहने रु आज यही संसद्बाट न्याय माग्छु । न्याय दिने आशा पनि रहेको छ,” चौधरीले भनिन् । आफ्नो पार्टीले न्याय नपाएसम्म लडिरहने बताए । उनले कविता पनि सुनाइन् ।
कानुन निर्माण गर्ने थलो संसदमा आफू न्याय माग्न आएको भन्दै श्रेष्ठले टीकापुर घटनामा बढी क्षति थारु समुदायलाई भएको तर्क गरिन् । उनले रेशम चौधरीसहितका निर्दोष थारुहरुलाई थुनिएको भन्दै आपत्ति जनाएकी थिइन् । ‘रेशम चौधरीको एफएम, घर र रिसोर्ट, गाडी, लत्ताकपडा जलाइयो र उनीहरुमाथि झुठा मुद्दा लगाइयो,’ श्रेष्ठले भनिन् । उनले चौधरी सो घटना भएको ठाउँभन्दा २१ किलोमिटर पर रहेको सरकारी प्रतिवदेनले देखाउने पनि बताएकी थिइन् ।
उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पनि माग गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्