काठमाडौ २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गर्दै गोरखाको विकासमा कायापलट गर्ने प्रतिवद्धता जनाएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेको बताए ।
प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको जानकारी दिंदै उनले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए । आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहेको दोहराए ।
कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता जनाए ।
सिंगो संसदको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको बताए ।
बुधबार गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा सुरु भएको गोरखा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले झण्डै सतप्रतिशत संसद्को समर्थन प्राप्त गर्ने अवसरलाई आफूले जिम्मेवारीको रुपमा लिएको बताए ।
‘यो निकै ठूलो गर्वको कुरा पनि हो, निकै ठूलो चुनौतीको कुरा पनि हो,’ उनले भने,‘सबै राजनीतिक दलको सहमतिबाट प्रधानमन्त्रीको रुपमा विश्वासको मत प्राप्त गरेँ, खुसी र गर्व महसुश भयो, यो ऐतिहासिक अवसरलाई पूरा गर्न तपाइँहरूको साथ हुनेछु ।’
मंगलबार विश्वासको मत लिनु अघिसम्म राजनीतिक दलहरूबीचको प्रतिबद्धता र विश्वासमा एकरुपता नआउने हो कि भन्ने आफूमा चिन्ता रहेको पनि उनको भनाइ थियो । ‘हिजोसम्म अलिकति चिन्ता पनि थियो, कतै राजनीतिक दलहरुबीचमा विभाजन भइदियो भने, प्रतिबद्धता र विश्वासमा एकरुपता आइदिएन भने अप्ठारो पो आउने हो कि भन्ने चिन्ता थियो,’ उनले भने,‘यहाँबाट निर्वाचन लड्दा गठबन्धनबाट लडेको हो, सबै निर्वाचन क्षेत्रमा सतप्रतिशत विजयी भएको हो, यो ऐतिहासिक तथ्यलाई विचार गरेर सदनमा सबै राजनीतिक दलले एकता सहमति होस् भनेर मैले अपिल गरेँ, सबै राजनीतिक दलको सहमतिबाट प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेँ, यो जिम्मेवारी र ऐतिहासिक अवसर पूरा गर्न तपाईँको पनि साथ छ ।’ असाधारण विश्वासको मतले देश विकास र आर्थिक क्रान्तिको नयाँ युगको सुरुवात गर्न कोषेढुङ्गा सावित हुने आफ्नो विश्वास रहेको दाहालले बताए ।
निर्वाचनका दौरान गरेको वाचा र प्रतिबद्धता पूरा गर्न पनि निरन्तर अघि बढ्ने उनले बताएका थिए । ‘नेपाल सरकारको ४४ औँ प्रधानमन्त्रीको हैसियतमा छु, निर्वाचन दौरानको क्रममा तपाईँहरुको अगाडि गरेको वाचा, कवुल, भौतिक पूर्वाधारको सन्दर्भ होस् वा विद्युतीकरणसँग सम्बन्धित होस्, पर्यटन विकासका कुरा या जडीबुटीसँग वा कृषिमा आधुनिकता र क्रान्तिका कुरा हुन्, नेपालको समग्र आर्थिक विकासको अगुवाको अग्रणिको रुपमा गोरखा जिल्लालाई अगाडि बढाउने जे प्रतिबद्धता गरेको छु, त्यो राम्रोसँग सम्झना छ,’ उनले भने ।
यस्तै आर्थिक विकास र समृद्धि, शुसासन, सामाजिक न्यायका निम्ति र विकास आयोजनालाई अगाडि बढाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । ‘जनताको सहयोग र राजनीतिक दलको एकता र प्रतिबद्धताको बलमा हामी आउने दिनमा विकासका परियोजनाहरुलाई अघि बढाउँछौं, नेपाली युवाहरुको निम्ति रोजगारी सिर्जना गर्ने, कृषिमा आधुनिकता ल्याउने र नयाँ आर्थिक युग र समृद्धिको युग तिर देशलाई लैजाने जुन सपना निर्वाचन प्रक्रियामा तपाइको सामुन्ने राखेका थिएँ, ती पुरा गर्छौ’ उनले भने ।
गोरखा बजारको खेलकुद मैदान हरटारीमा गोरखा महोत्सवको शुरु भएको छ ।
गोरखा उद्योग बाणिज्य संघको आयोजनामा भएको गोरखा महोत्वस कार्यक्रममा उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ र सांसद हितराज पाण्डे र राजेन्द्र बजगाईं समेत सहभागी भएका छन् ।
केही दिनअघि गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीहरूले प्रमुख अतिथिका रूपमा गोरखा आइदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।
गोरखा क्षेत्र नं. २ बाट प्रचण्ड निर्वाचित भएपछि गोरखाबासीले भौतिक विकासको ठूलो आशा गरेको उद्योग वाणिज्य संघका पदाधिकारीहरुले बताइरहेका छन् । महोत्वसव १ हप्तासम्म चल्ने छ । प्रधानमन्त्री प्रचण्ड आजै सैन्य हेलिकप्टरबाट काठमाडौं फर्कने छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्ड पहिलो पटक गोरखा गएका हुन् ।
प्रधानमन्त्रीले भ्रष्टाचारीहरुप्रति कडा हुने निर्देशन दिएर दलबलसहित गोरखा उडे
प्रतिक्रिया दिनुहोस्