काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग हवाईरुटबारे छलफल गरेका छन् ।किराती मंगलबार मन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री किराती भोजपुरबाट निर्वाचित संघीय सांसद हुन् ।
बधाई दिन सिंहदरबार पुगेका राजदूत श्रीवास्तवलाई मन्त्री किरातीले हाल सिमराको आकाश हुँदै प्रवेश गर्ने रुटमा अत्यधिक चाप भएकाले भारतले महेन्द्रनगरमाथिको रुटलाई दुईतर्फी बनाइदिन भनेको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी गराए । मन्त्रीको प्रस्तावमा राजदूत श्रीवास्तवले दुई देशका प्राविधिकहरु सम्मिलित बैठक गरी उनीहरुले दिने प्रतिवेदनका आधारमा अघि बढ्न सकिने बताएको सचिव अधिकारीले जनाए ।
यस अघि शुक्रबार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए।
उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए। यस्तै राजदूत श्रीवास्तवले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै दुई देशबीच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए।
उनले पारवहन सम्झौताका विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। साथै भेटका क्रममा दुई देशबीचको आयात निर्यातलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्