काठमाडौं, ११ माघ । सरकारले क्यान्सरका उपचार गराईरहेका, मिर्गौला फेल भई डायलासिस गराईरहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई जिविकोपार्जन भत्ता उपलव्ध गराउन थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ र बीर अस्पतालमा उपचाररत २९ जना विरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री देउवाले ट्रमा सेन्टरमा प्यारालाइसिसको उपचार गराईरहेका ६ जना, बीर अस्पतालमा क्यान्सरको उपचार गराईरहेका १२ जना र मिर्गौलाको उपचार गराई रहेका ११ जनालाई जिविकोपार्जन भत्ता उपलव्ध गराएका छन् ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले जटिल रोगबाट पिडीत विरामीका लागि राज्यका तर्फबाट थोरै राहत दिन भत्ताको व्यवस्था गरिएको बताए । उनले यो व्यवस्थाले राज्यलाई थप आर्थिक भार नपर्ने गरी व्यवस्था मिलाएको जानकारी दिए।
कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले जटिल रोेगका विरामीका लागि सरकारको तर्फबाट भएको भत्ता दिने निर्णयले विरामी र उनका आफन्तलाई थोरै भएपनि राहत महसुस भएको बताए ।
स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले जिविकोपार्जन भत्ताका लागि अर्थ मन्त्रालयले थप बीस करोड रुपैयाँ उपलव्ध गराएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्