धनगढी, १३ माघ । कैलाली जिल्लाको प्रमुख तीर्थस्थल गोदावरी धाममा भएको ‘बाह्र राशि दर्शन मकर मेला’मा झण्डै चार लाख भक्तजनले स्नान र पूजापाठ गरेका छन् ।
गत माघ १ गते शुरु भई शुक्रबार समापन भएको मेलामा नवग्रह शान्ति, महाअनुष्ठान, विशेष पूजापाठ, परायण, लक्ष्य हवन पितृ कर्म, आरती तथा भजनकीर्तन गरिएको थियो । यस्तै धाम परिसरमा स्थापित कुम्भबाटिकामा भक्तजनले बाह्र राशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको दर्शन एवं पूजासमेत गरेका थिए ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने योजनानुसार धाममा बाह्रराशि दर्शन मकर मेला गरिएको आयोजक समितिका संयोजक पदमराज जोशीले बताउनुभयो ।
प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने भएको शास्त्रीय मान्यतानुसार प्रत्येक वर्ष कुम्भ मेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गरिएको हो । मकर संक्रान्तिको अवसरमा गोदावरी धाममा आयोजना गरिएको मेलाका कारण यो स्थलको आकर्षण थप बढ्दै गएको छ ।
मेला भर्न कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरालगायत जिल्लाबाट ठूलो संख्यामा भक्तजन गोदावरी धाममा पुगेका थिए । सप्त गोदावरीमध्येको प्राचीन गोदावरीको गोदावरी नदीमा श्रीकृष्णले स्नान गरेको जनविश्वास छ । प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले मेलाको समापन गर्दै ७ नं प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकासका लागि राजनीतिक नेतृत्वलगायत सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभामा नवनिर्वाचित सांसद लेखराज भट्टले गोदावरी धामको विकास र संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्