इलाम, १३ माघ । माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट पारित गरेको छ ।
गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।
महेन्द्रोदय मावि गजुरमुखी, इभाङ मावि इभाङ, चिसोपानी मावि बाँझो, जीवनज्योति मावि चतुरे, दुर्गा मावि आदिपुरे, सरस्वती मावि भालुटार र विद्या सिर्जनात्मक माविलाई रु एक एक लाखका दरले रकम प्रदान गरिएको हो । उक्त बजेटले एसइइ परीक्षा तयारी गरिने विद्यालयले जनाएका छन् ।
त्यस्तै गरी तीन विद्यालयलाई अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि रु एक लाखका दरले बजेट प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराजा पौडेलले जानकारी दिनुभयो । धार्मिक अनुदानतर्फ किराँत साम्जिक मुन्धुम वेदशालाका लागि रु एक लाख ५४ हजार बजेट प्रदान गरिएको छ । यस्तै विद्यालय सुधार तथा मर्मत कार्यक्रममा यहाँका २४ वटा विद्यालयलाई रु १७ लाख ८० हजार बजेट दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्