काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप लिग–२ एकदिवसीय श्रृंखलाअन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । खेल बिहान ९ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुने छ ।
नेपाल च्याम्पियन स्कटल्यान्डलाई हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्ने दाउमा हुने छ । आजको खेल जितेमा नेपाललार्ई शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन सहज हुने छ ।
उता स्कटल्यान्डको लिग–२ मा यो अन्तिम खेल हो । पहिलो खेलमा नामाबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । नेपालसँगको खेलपछि स्कटल्यान्डले उपाधि ट्रफी त्रिवि मैदानमै पाउने छ ।
पहिलो खेलमा स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले प्रस्तुत गरेको २७५ रनको विजयी लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
स्कटल्यान्ड ३५ खेलमा २४ जित र ९ मा हारसहित ५० अंकका साथ शीर्ष स्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौँ स्थानमा छ ।
यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने पाउने छ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नु पर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन ९ मध्ये ५ खेल जित्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्