लन्डन, १४ फागुन । प्रधानमन्त्री ऋषि सुनक रुस विरुद्धको लडाइँमा युक्रेनीहरूको बलिदानीलाई सम्मान गर्न बिहान डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल भएका छन् ।
सो अवसरमा प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन् ।
‘हाम्रो महादेशमा युद्ध सुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु,’ सुनकले डाउनिङ स्ट्रिटमा जम्मा हुनुअघि भने, ‘युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक आफ्नो देशको रक्षार्थ लडेका छन् । यस भयानक द्वन्द्वमा बेलाइत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ।’
यसअघि प्रधानमन्त्री सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तर्राष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए । रूस र युक्रेनबीच युद्ध सुरू भएको एक वर्ष नाघेको छ ।
प्रतिक्रिया दिनुहोस्