काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवागढी-चिनियाँ केरुङ सीमाक्षेत्रमा आएको बाढीको कारण स्पष्ट पार्दै बिहान गएको भूकम्पपछि हिमपहिरो खसेको जानकारी दिएका छन्। त्यसपछि पहिरो पनि गएको उनले बताए।
नेपाल टेलिभिजन (एनटीभी) वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत चाङले प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षतिप्रति चीनले दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताए। ‘उपलब्ध प्रारम्भिक सूचनाअनुसार आज बिहान नेपालको भूभागमा भूकम्प गएको र त्यसपछि हिमपहिरो तथा पहिरो खस्दा जिरोङ–रसुवागढी सीमाक्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो क्षति भएको छ,’ राजदूतले भने।
चीनले उद्धारलाई उच्च प्राथमिकता दिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले विपत्तिप्रति उच्च चासो व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले जोखिममा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्न, घाइतेको शीघ्र उपचार गर्न र मानवीय क्षति कम गर्न निर्देशन दिएको राजदूतले जानकारी दिए।
राष्ट्रपति सीको निर्देशन
राजदूतका अनुसार राष्ट्रपति सीले विपत्तिको थप जोखिम रोक्न निरन्तर निगरानी र पूर्वसूचना प्रणाली बलियो बनाउन जोड दिएका छन्। वैज्ञानिक ढंगले उद्धार अभियान सञ्चालन गर्न पनि उनले निर्देशन दिएका हुन्।
विपत्तिपछि नेपालस्थित चिनियाँ दूतावासले तत्काल आपत्कालीन संयन्त्र सक्रिय बनाएको छ। दूतावासले नेपालमा प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरिरहेको राजदूतले बताए। दूतावासले नेपाली सरकार र सम्बन्धित निकायलाई उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेको छ। साथै, घटनास्थलमा आफ्नै कार्यदल पठाएर उद्धार तथा समन्वयमा सहयोग गरिरहेको पनि उनले जानकारी दिए।
चीनको सहयोग
रसुवागढी सीमाको चिनियाँतर्फ पनि ठूलो क्षति भएको उल्लेख गर्दै राजदूत चाङले चीनले नेपाललाई आपत्कालीन सामग्री र नगद सहयोग उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाएको बताए।
उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य तथा चीनको राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित तिब्बत पुगेर उद्धार तथा विपद् व्यवस्थापनको कामको नेतृत्व गरिरहेका छन्। राजदूतले नेपाल सरकार र सम्बन्धित निकायले गरेको उद्धार तथा व्यवस्थापनको प्रयासको प्रशंसा गरे। साथै, नेपाली जनताले देखाएको धैर्य र विपत्तिसँग जुध्ने क्षमताको उनले सराहना गरे।
विपद् पूर्वसूचना प्रणालीमा सहकार्य
राजदूत चाङले यस्ता विपत्तिबाट नेपाल र चीन दुवैले सिक्दै आगामी दिनमा विपद् न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनमा सहकार्य थप बलियो बनाउनुपर्ने बताए। उनले नेपाल र चीनबीच कम्तीमा तीन क्षेत्रमा सहकार्य बढाउनुपर्ने सुझाव दिएका छन्।
पहिलो, मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्का विषयमा सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने छ। सीमापार विपद्सम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने संयन्त्र विकास गरी विपद्को प्रारम्भिक पहिचान, पूर्वसूचना र तत्काल प्रतिक्रिया सुनिश्चित गर्नुपर्ने उनले बताए। दोस्रो, आपत्कालीन उद्धारमा दुवै देशबीच सञ्चार, समन्वय र संस्थागत क्षमता विकास गर्नुपर्ने छ। तेस्रो, जनशक्ति तालिम, प्राविधिक आदानप्रदान तथा आपत्कालीन सामग्रीको व्यवस्थापनमा सहकार्य बढाउनुपर्ने राजदूतले बताए। विपद् रोकथाम, न्यूनीकरण र उद्धार क्षमता स्थानीय तहसम्मै विस्तार गर्नुपर्ने उनको सुझाव छ।
छिमेकी बीचको मित्रता
राजदूत चाङले नेपाल र चीन पहाड तथा नदीले जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै दुवै देशबीच परम्परागत मित्रता र सहकार्य रहँदै आएको बताए। ‘नेपाललाई आवश्यक पर्दा आफ्नो क्षमताले भ्याएसम्म सहयोग र समर्थन जारी राख्न चीन तयार छ,’ उनले भने, ‘प्राकृतिक विपत्तिसँग जुध्ने दुवै देशको क्षमता थप मजबुत बनाउँदै नेपाल र चीनका जनताको जीवन तथा सम्पत्तिको अझ राम्रो संरक्षण गर्न हामी संयुक्त रूपमा काम गर्न तयार छौँ।’ रसुवाको रसुवागढी-केरुङ सीमाक्षेत्रमा आएको बाढी तथा पहिरोले नेपाल र चीन दुवैतर्फ मानवीय तथा भौतिक क्षति पुर्याएको अवस्थामा चिनियाँ राजदूतको यो भनाइ सार्वजनिक भएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्