काठमाडौँ, १५ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दै छ ।
त्रिकोणात्मक एकदिवसीय सिरिज सोमबारदेखि दुबइ इन्टरनेसलनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक एकदिवसीय श्रृंखला सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ । नेपाल उच्च प्रदर्शन गर्ने सोचसहित मैदानमा उत्रदै छ । तर, विदेश जान रोक लगाएका कारण क्रिकेटर सन्दीप लामिछाने बिनाको यो खेलमा नेपाललाई जित हासिल गर्न भने निकै सकस हुनेछ ।
यसअघिका चारवटै खेलमा सन्दीपले कुल ११ विकेट लिएको स्मरण भने दुबइमा गरिनेछ । लामिछाने बिनाको यो खेललाई लिएर क्रिकेट प्रेमी धेरैको नजर परेको छ । यद्यपि, लगातार चार खेल जितेका नेपाली खेलाडी पपुवा न्यगिनीलाई सहजै हराउने विश्वासमा छन् ।
तर, पपुवा न्युगिनीलाई कमजोर भने नेपालले आँक्नु हुँदैन किनभने गतवर्ष पपुवा न्युगिनीले नेपाललाई टियु मैदानमा दुवै खेलमा पराजित गरेको इतिहास छ । त्यसैले यो खेलमा नेपालले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
दुबइमा हुने यो प्रदर्शनसँगै नेपाली क्रिकेटको आगामी चार वर्षको भविष्य निर्धारण हुनेछ । यो खेलमा जित हासिल गर्ने नेपाल, युएई र नामिबियामध्ये एक टोली सोझै विश्वकप छनोटमा पुग्दैछन् ।
यस समूहका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब तीन देशमध्ये एक विश्वकपमा जाने भएकाले दुबइमा हुने खेललाई महत्वका साथ हेरिएको छ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्