काठमाडौँ, १५ फागुन । नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज पनि सुनवाइ हुन लागेको हो ।
नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका विरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन् । जसविरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ भइरहेको हो ।
सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रबारदेखि भएको सुनवाइ नसकिएपछि सोमबारका लागि पेसी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाइपछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुने छ ।
प्रतिक्रिया दिनुहोस्