काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको वास्तविक कारण र बाढी सुरु भएको स्थानबारे चीन पक्षसमेत हालसम्म स्पष्ट हुन नसकेको विपद्विज्ञ वसन्तराज अधिकारीले बताएका छन्।
चीनको छेन्दुमा रहेका अधिकारीले चिनियाँ विज्ञ तथा सम्बन्धित निकायसँग समन्वयमा रहेर बाढीको स्रोत र कारण पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म बाढी कहाँबाट सुरु भयो भन्ने स्थानसमेत यकिन हुन सकेको छैन।
“म अहिले चीनमा चिनियाँ साथीहरूसँगै छु। अहिलेसम्म यो बाढीको कारण के हो भन्ने मात्र होइन, यो बाढी कहाँबाट सुरु भयो भन्ने पनि पत्ता लाग्न सकेको छैन,” अधिकारीले बताएका छन्।
उनका अनुसार बाढी उत्पन्न भएको अनुमान गरिएको क्षेत्रमा सञ्चार सम्पर्क नहुँदा सूचना संकलनमा कठिनाइ भइरहेको छ। चिनियाँ पक्षले विभिन्न माध्यमबाट घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको बताइएको छ।
स्याटेलाइटबाट खोजी हुँदै
बाढीको सम्भावित उत्पत्तिस्थल पहिचान गर्न स्याटेलाइट प्रविधिको समेत प्रयोग भइरहेको अधिकारीले बताएका छन्। तर, घटनास्थल नै यकिन हुन नसकेकाले बाढीको कारणबारे तत्काल निष्कर्षमा पुग्न नसकिने अवस्था रहेको उनको भनाइ छ।
प्रारम्भिक रूपमा हिमपहिरो वा ठूलो पहिरो खसेर नदी वा खोला थुनिएको र पछि बनेको अस्थायी बाँध फुट्दा एक्कासि ठूलो परिमाणमा पानी बगेको हुन सक्ने अनुमान गरिएको छ।
तर अधिकारीले यो केवल प्रारम्भिक आकलन मात्र रहेको र विस्तृत अध्ययन तथा तथ्य पुष्टि भएपछि मात्रै रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको वास्तविक कारण खुल्ने बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्