म्याग्दी । म्याग्दीमा धार्मिक मेलामा सहभागी एक महिलाको सुनको सिक्री चोरी गरेको आरोपमा बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना नाबालक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पक्राउ पर्नेमा बाराका आकाश राय तथा पर्साका लालबाबु राय, प्रमोदकुमार, सुनिलकुमार राय र एक नाबालक रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
बेनी नगरपालिका–६ अर्थुङ्गे क्षेत्रमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार म्याग्दी जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले सोमबार बेनी नगरपालिका–५ गाजनेस्थित जगन्नाथ मन्दिरमा लागेको धार्मिक मेलामा पूजाआजाका लागि आएकी स्थानीय भद्रकुमारी कार्कीले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरेका थिए। सिक्री चोरी गरेपछि उनीहरू भाग्ने क्रममा पक्राउ परेका हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरू यसअघि पनि म्याग्दीका विभिन्न चोरीका घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूमाथि यसअघि पनि चोरीसम्बन्धी मुद्दा चलेको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्