काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार बाढीका कारण रसुवा क्षेत्रमा १२ वटा विद्युत् आयोजना तथा निर्माणाधीन संरचना प्रभावित भएका छन् । प्रभावित आयोजनाको कुल क्षमता ४३१.१ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएको छ । त्यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए र निजी क्षेत्रको २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।
अन्य आयोजना पनि प्रभावित
बाढीले २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ ।
यसैगरी, सान्जेन, माथिल्लो सान्जेन, माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजना तथा निर्माणाधीन संरचनामा पनि बाढीले क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
प्रभावित आयोजनामध्ये अधिकांश नेपाल विद्युत् प्राधिकरण वा त्यसका सहायक कम्पनीअन्तर्गत रहेका छन् भने लाङटाङ जलविद्युत् आयोजना निजी क्षेत्रको रहेको छ ।
विस्तृत क्षति विवरण आउन बाँकी
बाढीका कारण आयोजनाका बाँध, पावरहाउस, पहुँचमार्ग तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रारम्भिक तथ्यांक सार्वजनिक गरे पनि बाढीबाट विद्युत् उत्पादनमा परेको वास्तविक असर तथा भौतिक संरचनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ ।
प्रारम्भिक अवस्थाले भने रसुवा क्षेत्रका ऊर्जा आयोजनामा बाढीबाट ठूलो क्षति पुगेको देखाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्