काठमाडौँ । वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीत कार्य गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जनालाई पक्राउ गरेको छ ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार यसअघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनीहरूको कारोबार देखिएपछि अनुसन्धानका क्रममा चार जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।
सीआईबी प्रमुख चतुर्वेदीका अनुसार पक्राउ परेकाविरुद्ध धितोपत्रसम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गत अनुसन्धान भइरहेको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
थप व्यक्ति पनि पक्राउ पर्न सक्ने
सीआईबीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । अनुसन्धानका क्रममा आवश्यक देखिएमा अन्य व्यक्तिलाई समेत पक्राउ गर्न सकिने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूले गरेको कारोबारको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको गतिविधि धितोपत्र तथा बीमा क्षेत्रसँग सम्बन्धित कानुनविपरीत देखिएको सीआईबीले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्