धनगढी, १५ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् । दोश्रो पटक काठमाडौँ गएका मुख्यमन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भएपछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने सुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले विश्वासको मत लिन खोजेका हुन् ।
‘उहाँले अब फागुन २० गतेभित्रै विश्वासको मत लिने गरी तयारी थाल्नुभएको छ,’ कांग्रेसका एक प्रदेशसभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेशसभा बैठक आह्वान गर्ने तयारी पनि गरिएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा (एकीकृत समाजवादी)का कैलाली संयोजक दीर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठ्यारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अब कुनै सकस हुनेछैन, अब हामी करिब दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौँ, र अब यो सरकार दिगो पनि हुने छ ।’
नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य रमेशसिंह धामीले पनि अब सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन सकस नहुने बताए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै प्रदेशसभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अब प्रदेशमा पनि सरकार बन्ने बताए ।
तर, यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमनत्री बनाउने भन्ने निर्णय अहिलै नभइसकेको उनको भनाइ छ ।
राष्ट्रपति निमर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र माओवादी केन्द्रसहितको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सजिलै विश्वासको मत पाउने परिस्थिति बनेको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रका ११, नेकपा एसका ४ जना प्रदेशसभा सदस्य रहेका छन् । तीनवटै दल मिलेर सरकार बनेको स्थितिमा पनि सुदूरपश्चिम प्रदेशसभामा सरकारसँग ३४ जना प्रदेशसभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।
प्रतिक्रिया दिनुहोस्