काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन् ।
विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ । नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए ।
त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिला बलिङको निम्तो पाएको छ । नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ। करणको ठाउँमा गुलशन झाले खेल्ने भएका छन् ।
यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भीड लागेको छ । सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ ।
लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा युएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्ने छ । युएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्वकप छनोटमा पुग्ने छ ।
नेपाल र युएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ ।
प्रतिक्रिया दिनुहोस्