काठमाडौँ, ८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताएका छन् ।
मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियालाई कुनै पनि बहानमा लम्ब्याउन नहुने बताए ।
“दलीय संकीर्णता र तत्कालको नाफा घाटाभन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन । यो या त्यो नाममा लम्ब्यायौँ भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ,” उनले भने ।
संक्रमकालीन न्यायको विषय टुग्याउन ढिलो भइसकेको भन्दै महामन्त्री थापाले नेकपा (एमाले)लाई पनि सहकार्यमा आउन आग्रह गरे । थापाले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना अनिवार्य बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत भएको वा नभएको पनि ख्याल गर्नुपर्ने बताए ।
“जतिबेला नेपालको राजनीतिमा विचारभन्दा हतियार ठुलो हो, हिंसाको राजनीति अनिवार्य सर्त हो भनेर संघर्ष चलिरहेको थियो, त्यो बेला अर्को पक्ष राजा नै सर्वसत्ता हो भनेर वकालत गरिरहेको थियो । तर, गिरिजाप्रसाद कोइरालाले नागरिक नै सबैभन्दा ठुलो हो, नागरिक सर्वोपरि हो, नागरिक स्वतन्त्रता नै सर्वोच्चता हो भनेर वकालत गर्नुभयो । उहाँ त्यो पक्षको सर्वमान्य नेता हो,” उनले भने ।
उनले त्यसबेला कोइराला नेतृत्वको त्यो मोर्चाको सफलताकै कारण अहिलेको संविधान र नागरिक स्वतन्त्रतासहितका अहिलेका व्यवस्थाहरू प्राप्त भएको बताए ।
प्रतिक्रिया दिनुहोस्