भैरहवा, ८ । बुधबार हुन गइरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
पूर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गइरहेको छ ।
स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एक्लै प्रतिस्पर्धामा होमिएको छ ।
चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानलसहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ ।
सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भीम भण्डारीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।
यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादीनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिस्पर्धा गर्दैछन् ।
अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन स्वतन्त्र मधेसी युनियनले समर्थन गरेको छ भने देवानलाई लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।
यसैगरी, अध्यक्षमा नेकपा एसनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अजय भन्डारी, विप्लव निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिस्पर्धा गदै छन् ।
२०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपूर्ण र पुरानो क्याम्पसको रुपमा परिचित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्