काठमाडौं, १६ माघ । अर्थविदहरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् ।
रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अवैध धनलाई प्रोत्साहन गर्न नहुने भएपनि अनौपचारिक अर्थलाई औपचारिक गर्नु राम्रो कुरा भएको बताउनुभयो ।
उहाँले अनौपचारिक अर्थलाई औपचारिक बनाउनको लागि सरकारले साँच्चिकै गम्भिर पहल लिने हो भने एमाले अध्यक्षले बोलेको कुरा स्वागतायोग्य रहेको बताउनुभयो ।
क्षेत्रीले पूर्व अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा ५० प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको कुरा ‘अन रेकर्ड’ रहेकोले अहिले आफूलाई यो साँचो लागेको बताउनुभयो । उहाँले अहिलेको सरकार दुरदर्शी नभएको आरोप लगाउनुभयो ।
मुलुक संघीय संरचना अनुसार अघि बढेको र तीन तहको सरकार भएकोले खर्च बढ्ने कुरा स्वभाविक भएको उहाँकोे तर्क थियो । साक्षात्कारमा अर्थविद् डा. डिल्लीराज खनालले अवैध धनलाई बैद्य गर्ने कुरालाई समान्तर अर्थतन्त्रको संज्ञा दिँदै कालो धनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
खनालले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले गरेका कतिपय निर्णयहरुले लोकतन्त्रको विधि र प्रक्रियालाई समेत अवमुल्यन गरेको गुनासो गर्नुभयो ।
साक्षात्कारमा बोल्दै अर्थविद डा. शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने धारणा राख्नुभयो । डा. शर्माले अहिलेसम्म मुलुकमा वैदेशिक लगानी एक सय मिलियन पनि आउन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्