काठमाडौं ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले नै उपचार गर्न भारत जान सल्लाह दिएको बताएका छन्।
बुधबार तनहुँ–१मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले नेपालमा उपचार गर्ने इच्छा राखे पनि आफूले नै भारतमा जान सल्लाह दिएको बताएका हुन्।
‘उहाँ अस्वस्थ हुनुभयो तर, गम्भीर होइन। हिजो मैले उहाँसँग कुरा गरेँ। मैले भारत जान सल्लाह दिएँ। उहाँले नेपालमा उपचार गर्न चाहनुभएको थियो। तर, मैले डाक्टरले जे भन्छन् त्यही गर्नु भनेको थिएँ त्यसपछि उहाँले मान्नुभयो,’ उनले भने।
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आजै भारत लगिएको छ। बिहान श्री एयरको विमानमार्फत राष्ट्रपति पौडेललाई थप भारत लागिएको हो। पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार सुरु भइसकेको जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
तनहुँमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गृहमन्त्रीको भाषण र काममा के फरक थियो भन्नेतर्फ संकेत गर्दै भने, ‘भ्रष्टाचार र बेथिति रोक्नका लागि केही कठोर कदम चालिएको छ । हिजोको मात्रै क्याबिनेटको निर्णय हेर्नुहोला, कुरो गहिरो छ । ठुल्ठूला गफ हाँक्नेहरूको असलियत के हो भन्ने कुरा हामीले देखिराख्या छौं ।’
मंगलबारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले जारी गरेको नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि, २०७९ खारेज गरेको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले गत पुस १३ गते अर्थ मन्त्रालय र कानुन मन्त्रालयलाई समेत जानकारी नदिई राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिन कार्यविधि जारी गर्ने निर्णय खारेज गरेको थियो ।
प्रधानमन्त्री दाहालले १० वर्षदेखि स्कुलमा पाठ्यपुस्तक नपुग्ने अवस्था अन्त्य गर्न आफ्नै पहलमा शैक्षिक सत्र सुरु हुनु पहिल्यै पुस्तक पुर्याएको बताए । उनले नयाँ बजेटमार्फत सरकार सुशासन र समृद्धिको नयाँ यात्रा गर्ने गरी प्रस्तुत हुने बताए ।
प्रतिक्रिया दिनुहोस्