दमौली, ८ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा टाउको हल्लाउनेमात्र नभई कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताए ।
सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बनाउन एमालेले प्रस्ताव गरेको बताए । “संवैधानिक परिषद्मार्फत प्रधानन्यायाधीश नियुक्तिका लागि बैठक बसे पनि त्यो टुंगोमा पुग्न सकेको छैन, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति गठन गरौँ भन्ने एमालेको प्रस्ताव हो”, उनले भने ।
सचिव भट्टराईले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा एमालेको केही आपत्ति रहेको बताए । “उक्त विधेयक पीडितको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो, पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा हामी छौँ ।”
प्रतिक्रिया दिनुहोस्