काठमाडौँ, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्यको पहुँच नपुगेका निम्न वर्गका जनतामाझ स्वास्थ्य सेवा पु-याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
शहीद स्मारक जनस्वास्थ्य कलेजको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले कालीकोट र जाजरकोटमा फैलिएको महामारीबारे चर्चा गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको विकासमा सम्बन्धित निकायको ध्यान पुग्नुुपर्नेमा जोड दिनुभएको हो ।
गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा आयोजक कलेजसहितका निजी क्षेत्रका शैक्षिक संस्थाको प्रयास निरन्तर रहने अपेक्षा गर्दै उपराष्ट्रपति पुनले दक्ष जनशक्तिको विकास भए देश संबृद्ध हुने विचार व्यक्त गर्नुभयो ।
उक्त कलेजका अध्यक्ष निलकृष्ण ताम्राकारले नेपालमा प्राविधिक शिक्षाको अभावमा कयौँ युवा विदेशिन बाध्य भएको स्थितिमा आफूहरूले प्राविधिक शिक्षा दिएर केही हदसम्म प्रतिभा पलायन रोक्ने काम गरेको बताउनुभयो ।
उहाँले प्राविधिक शिक्षाको ज्ञान भए कोही पनि बेरोजगार बस्न नपर्ने विचार व्यक्त गर्दै यस कलेजले आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा १० वर्षे सेवा अवधि पूरा गरेका कलेजका कर्मचारीलाईे सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्