काठमाडौं १ साउन । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।
विभागमा आज विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच बसेको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।
विभागका प्रवक्ता डा टोकराज पाण्डेले साँघुरो बाटोमा धेरै सवारीसाधन आवतजावत गर्दा दुर्घटना धेरै हुँदै गएको भन्दै उक्त राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो । उक्त राजमार्गमा भाडाका साना सवारीसाधन चल्दै आएका छन् ।
बैठकले काठमाडौँ उपत्यकामा अनलाइन सेवामार्फत सवारीसाधन अनुमतिपत्र ९लाइसेन्स०को फर्म भर्ने व्यवस्थासमेत गरेको छ ।
यसैगरी, विभागले आजदेखि देशभर सवारीसाधन अनुमतिपत्र ९लाइसेन्स०को सट्टा देशभर स्मार्ट कार्ड प्रणाली लागू गरेको छ । विसं २०७२ मंसिरदेखि वागमती अञ्चल कार्यालयमा शुरु गरेको स्मार्ट कार्ड प्रणाली आजदेखि अन्य १३ अञ्चलमा पनि लागू गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बिपी राजमार्ग साँघुरो र सडकको अवस्था राम्रो नभएकाले आफूहरुले उक्त निर्णयमा सहमति जनाएको बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्