काठमाडौँ, १७ माघ । घुस लिएको रकमसहित पक्राउ परेकी लमही नगरपालिकाअन्तर्गत नगर कार्यपालिकाको कार्यालय लमही, दाङको भवन नियमन शाखामा कार्यरत सहायक इञ्जिनियर संगीता श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
श्रेष्ठले घर अभिलेखन कार्य गर्ने प्रयोजनका लागि नक्सा पास गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, कोहलपुरबाट खटिएको टोलीले निजलाई घुस रकमबापतको रु ५० हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको देखिन आएकाले निजलाई बिगो रु ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्