काठमाडौं २५ बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएको कार्यदलका सदस्यहरुको बयान सुरु भएको छ। काठमाडौं प्रहरी परिसरले कार्यदलका संयोजक बालकृष्ण पन्थीको बयान आइतबार लिएको छ।
सदस्य गणेश केसी र दीपकप्रसाद न्यौपानेलाई पनि बयानका लागि बोलाइएको छ। केसीलाई सोमबार नै उपस्थित हुन भनिएको परिसरका एक अधिकारीले जानकारी दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा शरणार्थीको समस्याबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलमा विज्ञका रुपमा केसी र मन्त्रालयकै उपसचिव न्यौपाने सदस्य थिए।
कार्यदलको प्रतिवेदनका आधारमा यसअघि छुटेका भुटानी शरणार्थीलाई अमेरिका पठाउने सरकारको तयारी थियो। तर यही कार्यदलको प्रतिवेदनमा नेपालीलाई नै शरणार्थी बनाएर अमेरिका पठाउन लागिएको आशंका गरिएको छ।
कार्यदलले फर्जी शरणार्थी गणना गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। कार्यदलका सदस्यसँगै गृह प्रशासनका कर्मचारी पनि अनुसन्धानमा तानिएका छन्।
कार्यदल बन्दा गृहमन्त्री रामबहादुर थापा बादल थिए भने गृहसचिव हालका अख्तियार प्रमुख प्रेमकुमार राई। प्रेमकुमार पनि ठगीमा संलग्न रहेको पक्राउ परेका बिचौलियाले बयान दिएका छन्। तर हालसम्म तत्कालीन गृहमन्त्री बादलको भने नाम जोडिएको छैन।
उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई र छोरा प्रतीकको नाम बिचौलियाले बयानमा लिएका छन्। संलग्नता खुलेपछि इन्द्रजित पक्राउ परिसकेका छन्। प्रतीक फरार छन्। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतीकले अस्वीकार गर्दैै विज्ञप्ति जारी गरेका थिए।
लेनदेनमा मुछिएका सुरक्षा सल्लाहकार राईका छोरा निरज पनि फरार छन्। उनलाई पनि प्रहरीले खोजिरहेको छ। कार्यदलको बयानपछि तत्कालीन गृह प्रशासनका क–कसको के संलग्नता छ भन्ने खुल्ने छ। कार्यदलका विज्ञ सल्लाहकारमा केसीलाई इन्द्रजितकै सिफारिसमा नियुक्त गरिएको थियो। त्यसकारण पनि कार्यदलले गडबड गरेको आशंका प्रहरीको छ।
भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापा हुँदा २०७६ जेठमा कार्यदल गठन गरिएको थियो। सोही कार्यदललाई प्रभावित बनाएर गृह प्रशासनका कर्मचारी र बिचौलियाले नेपालीलाई शरणार्थीको सूचीमा राखेका थिए।
तर सरकार परिवर्तन भएपछि शरणार्थी बनेर अमेरिका जान लाखौं बुझाएका नेपालीले उजुरी गरेका थिए। कार्यदलको पनि कार्यावधि सकिन लागेको थियो।
तर यही कार्यदलको सूचीमा समेटेर अमेरिका पठाउने भन्दै बिचौलियाले लाखौँ रकम असुलेको पाइएको छ। यसरी उठाएको रकम गृहमन्त्रीदेखि गृह प्रशासनका नेतृत्वसम्म पुर्याएको बिचौलियाको बयान छ।
बिचौलियाको बयानपछि यसमा संलग्नमाथि प्रमाण जुटाउँदै पक्राउ गर्न थालिएको हो।
बयानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण समेत जोडिएपछि प्रहरीले थप प्रमाण खोजिरहेको छ। कार्यदलको म्याद थप गर्दा गृहमन्त्री खाण थिए। उनकै रोजाइमा सचिव पाण्डेलाई गृह मन्त्रालयमा ल्याइएको थियो।
पाण्डेको संलग्नता पुष्टि भइसकेको छ। उनी र बिचौलियाबीच बाक्लो कुराकानी भएको खुलेको छ। यस्तै आर्थिक लेनदेन पनि पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
मन्त्री खाणसहित उनकी पत्नी मञ्जु खाण र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको नाम समेत सार्वजनिक भएको अडिओमा उल्लेख गरेको पाइएको छ। बिचौलिया र पीडितबीच भएको कुराकानीमा उनीहरुलाई ८ करोड रुपैयाँ बुझाएको समेत भनिएको छ। तर अहिलेसम्म आर्थिक लेनदेनको प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ।
‘
प्रतिक्रिया दिनुहोस्