नवलपरासी, १८ माघ । नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट प्रतिनिधित्व गर्दै निर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यहरुले आफूहरु जिल्लाको चौतर्फी विकासको मुद्दामा एकजुट भई अघि बढ्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था उद्योग वाणिज्य संघ नवलपरासीद्वारा बुधबार परासीमा आयोजित नवलपरासीबाट प्रतिनिधित्व गर्दै निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरुका लागि आयोजित सम्मान कार्यक्रममा जिल्लाको विकासका लागि आफूहरु एकजुट भई लाग्नुपर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पश्चिमका हृदयेश त्रिपाठी, देवेन्द्रराज कँडेल र पूर्वका तिलक महत एवं प्रदेश सभा सदस्य पश्चिमका वैजनाथ चौधरी, अजय शाही, वैजनाथ जैसवाल रर भगवती भण्डारी र पूर्वका विष्णु लामिछाने र ओमकला गौतमलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले प्रदेश समृद्धिका लागि निजी क्षेत्रले सम्भावनाका खाका बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, देवेन्द्रराज कँडेलले पर्यटन प्रवद्र्धनका लागि रामग्राम, पण्डितपुर विकास कोष स्थापना गराउन र त्रिवेणीधाम तथा मदारबाबा थानको विकास गरी यस क्षेत्रका पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
यसैगरी सोही अवसरमा तिलक महतले नवलपरासीका औद्योगिक सम्भावना र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई अघि वढाउन प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा प्रदेश सभा सदस्यहरु वैजनाथ चौधरी, विष्णु लामिछाने, ओमकला गौतम, भगवती भण्डारी लगायतले यस क्षेत्र विकास लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा संघका अध्यक्ष एवं नवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले जिल्लामा भएका आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, कृषि, पर्यटकीय, औद्योगिक र पूर्वाधार विकास निर्माणका सम्भावनाबारे ध्यानाकर्षण गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्