बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको हो।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्।
लुम्बिनी प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। बहुमत प्राप्त भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्।
प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित थिए।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।
कांग्रेसको समर्थन फिर्तापछि बहुमत
कांग्रेसले समर्थन फिर्ता लिएपछि पनि मुख्यमन्त्री आचार्यले सरकारमा सहभागी तथा समर्थक दलहरूको साथ कायम राख्दै बहुमत जुटाउन सफल भएका हुन्।
विश्वासको मत पाएसँगै आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई तत्कालका लागि सरकार सञ्चालनमा निरन्तरता दिने बाटो खुलेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्