अर्घाखाँची, २ जेठ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो । आगो लगाउने भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गत वैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएकी एक महिला अझै उपचार भइरहेको छ ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
उक्त नियममा छ महिनादेखि दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ । अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, सन्धिखर्क–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क–३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
जनावरलाई धपाउने, काँडा तथा पात पतिंगर जलाउने, हेलचेक्य्राइँ गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ । “हेलचेक्य्राइँ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ”, प्रनाउ रिजालले भने, “फागुनदेखि असारसम्म सबै चनाखो बन्नुहोला ।”
प्रतिक्रिया दिनुहोस्