बुटवल, १९ माघ । प्रदेशसभाको बैठक आउन २ दिन मात्र बांकी रहंदा पनि सरकारले खटाएका कर्मचारीहरु कार्यस्थल नपुगेपछि सहजिकरणका लागि बुटवल पुगेका संसद सचिवालयका अधिकारीहरु आफै बैठक संचालनका लागि जुटेकाछन् । प्रदेश संसद सचिवालय संचालनका लागि एक जना प्रथम श्रेणीका अधिकृत सहित २७ जना कर्मचारीको बिन्यास गरिएको छ तर, सबै कर्मचारीहरु कार्यस्थलमा पुगेका छैनन ।
तैपनि माघ २१ गते प्रदेश अधिवेशनको बैठक त बस्ने नै छ । यो बैठकबाट जनताले धेरै अपेक्षा गरेका छन् । २० औ वर्षसम्म जनप्रतिनिधि सहितको ब्यवस्थापिका नभएको र प्रदेश स्तरमै पहिलो पटक प्रदेश ब्यवस्थापिका पाएका जनताले धरै अपेक्षा गर्नुलाई अस्वभाविक मान्न सकिंदैन ।
५ नम्बर प्रदेश आफैमा बिबिधता भएको प्रदेश हो । गौतमबुद्धको जन्मस्थलदेखि जनयुद्धको उदगम स्थल रोल्पासम्म । देश पाल्ने खुबिराख्ने अन्नको भण्डार बर्दियादेखि महाभारत कथाको त्रिबेणी गजेन्द्र मोक्षधाम जस्ता तिर्थस्थलले ओतप्रोत प्रदेश नम्बर ५ को बिकासको खाका योजनाबद्ध ढंगले कोर्न सके यो प्रदेश सबै क्षेत्रमा समृद्ध बन्न सक्ने खुबि राख्छ ।
सिमा भन्सार नाकाका हिसावले पनि नेपालकै नम्बर १ बन्ने क्रममा रहेको बेलहिया नाका होस् वा चुनढुंगाको खानीका हिसावले प्रदेश नम्बर ५ यसैपनि समृद्ध रहेको छ । संघीय संरचना निर्माण भएसंगै प्रदेश नम्बर ५का जनताले पनि समृद्ध प्रदेशको अपेक्षा राख्नुलाई स्वाभाबिक मान्नु पर्दछ । दरिलो नीति बनाएर अगाडि बढ्न सके ५ नम्बर प्रदेशको दु्रत बिकास सम्भव भएको बिश्वास छ बाम बुद्धिजिवी झपेन्द्र जीसीको ।
त्यसो त अहिले पनि बुटवलबाट दाङ प्रदेश केन्द्र लैजानु पर्छ भन्ने बहसको अन्त्य भै सकेको छैन । प्रदेशसभाको बैठक केहिसमय यसै बिषयले अल्झने संभावनालाई पनि नकार्न सकिंदैन । वेटिङ मुख्यमन्त्री शंकर पोखरेलदेखि माओबादी केन्द्रका प्रभावशाली नेता कृष्ण बहादुर महरा र वर्षमान पुनले दाङको पक्षमा लबिङ गरि नै रहेका कारण पनि प्रदेशसभा प्रदेश केन्द्रका बिषयमा अल्झने सम्भावना रहेको हो । जनताको धरै अपेक्षा भएका कारण प्रदेशसभा झिनामसिना कुरामा अल्झन नहुने तर्क छ प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष बुद्धिजिवी मदनप्रसाद कट्टेलको ।
जनताको बलिदान र लामो संघर्षबाट प्राप्त संघिय संरचनाको संसदलाई पुरानै ढांचामा गफ गर्ने अंखडा बनाईए जनताले नेताहरुलाई माफी दिने छैनन् । जसरी बाम एकताको पक्ष र समृद्धिको समर्थन सहितको अपेक्षाबाट प्रदेशसभा र प्रतिनिधि सभाको नतिजा आएको छ, त्यसमा कुठाराघात गर्ने अधिकार कसैलाई छैन भन्ने कुरा प्रदेशका सांसदहरुले पनि बुझनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्