अछाम २० माघ । असोजदेखि पानी नपरेपछि अछाममा खाद्य संकट हुने अनुमान गरिएको छ । पानी नपरेपछि गहुँ फल्ने खेतहरु बाँझो परेका छन् ।
हिउँदे बाली छरे पनि आकासे पानीको भरमा रहेका किसानका खेतहरु बाँझै भएका हुन । लामो खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताउन थालेको छ । किसानले लगाएको आधा बाली नउम्रिएको र उम्रिएको पनि पानी नपरेपछि सुक्न थालेका छन् ।
प्राय आकासे पानीको भरमा खेती गरिने जिल्लाका कालिका, दर्ना, नवाठाना, मष्टामाण्डौ, बुढाकोट, घुघुरकोट, मंगलसैन, पायल, मार्कु, दुनी पातलकोट लगायतका गाउँका अधिकांश जमिन बाझै छन् ।
खेतीपातीलाई मात्र नभएर यस बर्षको लामो खडेरीले मेलापातमा घाँस पनि नउम्रिदा पशुपंक्षीलाई खुवाउने आहारमा समेत निकै असर परेको छ । माघ ९ गते सामान्य पानी परेपनि त्यो सिचाईका लागि प्रर्याप्त नभएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार अछाम जिल्लाको कुल १४ हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्