काठमाडौँ ११ असार । पशुपतिनाथको स्वर्ण जलहरी जोखेर परीक्षणको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । जलहरी जोख्दा १०७।४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
जलहरीलाई पुनः मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ । सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ। मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ ।
गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।
जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाएर जलहरी परीक्षण गरिएको थियो ।
राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिन गरेपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्