काठमाडौं ११ असार । काठमाडौंको भोटेबहालमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ। भोटेबहालस्थित एक घरमा पेन्टिङ गरिरहेका उनीहरू इनारबाट पानी तान्नेक्रममा डुबेका हुन्।
पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि सुरुमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु मोटर निकाल्न गएका थिए।
उनी नफर्किएपछि उनलाई बचाउन गएका सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ पनि त्यहीँ फसे।
दुवै जनाको इनारभित्र ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले बताए।
उनीहरुको शव अहिले इनारबाट निकालिएको छ। मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी छ।
प्रतिक्रिया दिनुहोस्