काठमाडौँ २२ असार । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलाका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको एक प्रहरी अधिकारीले जानकारी दिए । त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नविरुद्ध मुलुकी ऐन २०२० र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गरिरहेको छ । प्रहरी अधिकारीका अनुसार पक्राउ पुर्जी जारीपछि बस्न्यात सुरक्षामा खटिएका अंगरक्षक नै फिर्ता गरेर सम्पर्कविहीन भएका थिए । अरू आरोपितको पनि खोजबिन भइरहेको ती अधिकारीले जानकारी दिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त हुन् ।
२०७४ जेठ ८ देखि २०७४ माघ २९ सम्म अख्तियार प्रमुख रहेका बस्न्यात भौतिक योजना तथा निर्माणसहित विभिन्न मन्त्रालयमा सचिव भएका थिए । पन्त खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री भएका थिए । २०६६ असार २८ देखि २०६७ माघ १४ सम्म उनी भूमिसुधार सचिव थिए । त्यहीं रहँदा सरकारी जग्गा व्यक्तिलाई दिलाउने गरी फाइल उठाएर मन्त्रिपरिषद्मा पठाएका थिए ।
सरकारी जग्गा हिनामिना हुने गरी २०६२र६३ ताका पशुपति टिकिन्छा गुठीका नाममा जग्गा लैजान गरिएका निर्णय तथा टिप्पणी आदेश सदर गरेको कसुरमा भुसाल तानिएका हुन् । सोही कसुरमा अनुसन्धान गर्न उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोत बताउँछ । दुवै जना पूर्वभूमिसुधार सचिव हुन् । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सरकारी निवास विस्तार गर्ने नाममा २०६६र६७ ताका भूमाफिया र नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिन खडा गरिएका फाइल सदर गर्नेदेखि टिप्पणी आदेश स्वीकृत अनि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णयमा बस्न्यात र पन्त संलग्न थिए । उनीहरू त्यसबेला क्रमशः भौतिक योजना र भूमिसुधार मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्