लमजुङ ११ साउन । बेँसीशहर नगरपालिका(८ शेरास्थित बस टिकट काउन्टर नजिकै ओरालोमा रोकेर राखेको बस एक्कासी गुडेर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बेँसीशहरबाट डुम्रेतर्फ जानका लागि तयारी अवस्थामा रहेको ना ५ ख ४०८१ नम्बरको बस ओरालोबाट गुडेर भीरतर्फ खस्दा राइनास नगरपालिका–९, कुवापानी घर भई हाल भोटेओडारमा बस्दै आएकी २२ वर्षीया मिष्मा गुरुङ गम्भीर घाइते भएकी छन् । अन्य ५ जना लमजुङ अस्पतालमा सामान्य उपचार गरी घर फर्किसकेका छन् । गम्भीर घाइते गुरुङलाई उपचारका लागि चितवन लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए । घाइतेको नाक, मुख र शरीरको अन्य भागमा गहिरो चोट लागेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार बिहीबार दिउँसो साँढे २ बजेतिर बस दुर्घटना भएको थियो । उक्त बसमा १२ जना यात्रु रहेको र गुडेर खसेपछि रुखले रोकेकाले बढी क्षति हुन नपाएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक खोटाङ घर भई हाल तनहुँको भानु नगरपालिका(९ बाइसजाँगर बस्ने ३० वर्षीय हेमन्त तामाङलाई नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया दिनुहोस्