ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल मार्फत सूचना फैलाएर धर्मका आवरणमा सर्वसाधारणको स्वास्थ्य र सम्पत्तिमा खेलबाड (भिडियो)


एबीसी न्यूज
१२ श्रावण २०८०, शुक्रबार   ३ : ३३   बजे

काठमाडौं । पछिल्ला दिन टिकटकमा निकै भाइरल छन् यी दुई अनुहार । सीमान्त गुरु भनिने भरत भट्टराई र प्रकाश भुजेल । हेरेकै भरमा जुनसुकै रोग निको पार्ने दाबी सहित भट्टराई मुलुकका विभिन्न ठाउँ पुगेर स्वास्थ्य शिविर चलाउँछन् । बिरामीको घर घर चहारेर इलाज गरेजस्तो गर्छन् । उनले पोखरा, पाल्पा, सुर्खेत, तुल्सीपुर लगायत शहरमा पटक पटक यस्ता गतिविधि गरेका प्रमाण टिकटकमा छरपस्ट देखिएका छन् । मनको कुरा बुझ्ने म भन्ने शब्दसहितको पोस्टर परिचय बनाएका सीमान्त– टिकटकमा निकै भायरल छन् । किड्नी, प्यारालाइसिस लगायतका बिरामी र दीर्घरोगीको सफल उपचार गर्ने ग्यारेन्टी गरिरहेका हुन्छन् ।

उनीसँग स्वास्थ्योपचारको कुनै औपचारिक विशेषज्ञता भने छैन । शुरूमा काठमाडौं, कोटेश्वरलाई अड्डा बनाएका भट्टराईले अहिले तारकेश्वर नगरपालिका–७ मनमैंजुमा ‘श्री अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालि’ खोलेका छन् । तेल झारफुक गरिदिने भनेर वडा कार्यालयमा समेत दर्ता गराएका छन् ।भट्टराईले टिकटकमा राखेको कागजात अनुसार उक्त संस्था गत वैशाख २० गते वडामा दर्ता भएको छ भने कर कार्यालयमा पनि रेकर्ड राखिउको छ । संस्थामा भीडभाड बढेपछि तीन महिनाअघि प्रहरी वृत्त बालाजुले सेवा बन्द गराएको थियो ।

यता, आफूलाई झाँक्री भन्ने प्रकाश भुजेलले पनि जोरपाटीमा ‘भुजेल मानव सेवा संस्कृति पूजा केन्द्र’ खोलेका छन् । आँखा नदेख्ने, बोली नफुटेका, मानसिक सन्तुलन गुमेकाहरूको उपचारदेखि पूजापाठ मार्फत वैदेशिक यात्रामा जान चाहनेको भिसाको ग्यारेन्टीसम्म गरिदिने भन्दै टिकटकमा अनेक भिडिओ पोस्ट गरेका छन् । बिरामीलाई एम्बुलेन्समा राखेर उनीकहाँ पु¥याइएको भिडिओ समेत देख्न सकिन्छ । तर, स्वास्थ्योपचरमा उनको विशेषज्ञता र औपचारिक योग्यता कतैबाट पुष्टि हुँदैन । बौद्ध प्रहरी वृत्तका अनुसार भुजेलको संस्था कतै दर्ता छैन । भीडभाड बढेपछि तीन–चार महीनाअघि पनि गएर बुझेको र त्यहाँ आउनेहरूले भगवान्प्रति आस्था राखे जसरी धामीझाँक्रीको विश्वास गरेर आएको प्रहरीले बताएको छ । आस्थाको कुरा भएको र ठगिएको जाहेरी नपरेकाले प्रहरीले निगरानी राख्ने बाहेक केही गर्न नसकिएको स्वीकार गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल भने प्रहरीलाई समेत गालीगलौज गरेको भिडिओ पोस्ट गरेकाले भुजेल खोजी सूचीमा रहेको दाबी गर्छन् ।

डीएसपी बस्नेत भुजेल डेढ महीनादेखि जोरपाटीमा नरहेको बताउँछन् । तर, प्रहरीको दाबी गलत भएको पोल भुजेलले नै खोलेका छन् । फरार भनिएका उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेकोदेखि हरेक दिन आफू कहाँ छु भन्ने जानकारी टिकटक मार्फत दिइरहेका हुन्छन् । साउन १ गते उनले गृहमन्त्री श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेको भन्दै भिडिओ पोस्ट गरेका छन् भने साउन ६ गते ललितपुरको महालक्ष्मी नगरपालिका–७ को एउटा सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि नै बनेका छन् । बाइकमान्डु नेपालले आयोजना गरेको तेस्रो सिजनको फूटसल प्रतियोगिताको फाइनल खेलमा भुजेल प्रमुख अतिथि रहेको बाइकमान्डुले फेसबूक, इन्स्टाग्राममा पोस्ट गरेको भिडिओमा देखिन्छ । साउन ३ को अर्को भिडिओमा आफू आश्रममै रहेको भन्दै विदेशमा रहेका अनुयायीका लागि ह्वाट्सएप नम्बर बाँडिरहेका छन् । सोही दिन चाँगुनारायण र वज्रयोगिनी मन्दिरमा पनि पूजाआजा गरिरहेका देखिन्छन् । पोखरा, चितवनमा पनि उनका शाखा कार्यालय रहेका छन् ।

अलौकिक शक्ति मार्फत दीर्घरोग निको पारिदिने दाबी गर्ने भट्टराई र भुजेलबीच अरूपनि थुप्रै समानता छन् । यी दुवै टिकटकमा रोग निको भएका भनिएका बिरामीका भिडिओदेखि विभिन्न गीतमा आफैंले अभिनय गरेका सामग्री अपलोड गर्छन् । अनि अरूले त ढोंगी भन्छन्, म त्यस्तो लाग्यो त?’ भन्दै गरेको प्रश्नमा बिरामीले ‘होइन’ भनी जवाफ दिएका भिडिओलाई प्राथमिकता साथ प्रचार गराउँछन् ।

अर्को समानता, यी दुवै विगत समयका विवादित पात्र हुन् । मोरङको पथरी–शनिश्चरे नगरपालिकाका भट्टराईले मोरङ र झापाका युवालाई विदेश पठाइदिने भन्दै रकम उठाएर भागेको आरोप छ । झापाका तेजबहादुर अधिकारीले २०७३ भदौमा वैदेशिक रोजगार विभागमा भट्टराईले विदेश पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगेको जाहेरी दिएका थिए । अरू पीडितले पनि निःशुल्क कानूनी परामर्श केन्द्र मार्फत विभाग र प्रहरीमा उजुरी दर्ता गराएका थिए । तर, भट्टराई कानूनी कारबाहीमा आएनन् । भुजेलको स्थायी ठेगाना भने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हो । परिवर्तन मिडिया नामक यूट्यूब च्यानलले राखेको भुजेलको बायोग्राफी भिडिओमा ‘कालीमातासँग जम्काभेट भएपछि उनमा दैवी शक्ति आएको’ उल्लेख छ । भुजेल २०६२÷६३ मा १९ वर्षको छँदा माओवादीमा लागेको र तीन महीनापछि भागेको उनी राप्रपा, शाही युवा शक्ति नेपाल जस्ता राजनीतिक संगठनमा पनि संलग्न रहेको भनिएको छ । आफूलाई धार्मिक÷आध्यात्मिक÷तान्त्रिक गुरु भन्नेहरूले सोझासाझाको विश्वास जित्न अक्सर समाजमा स्थापित र राज्य संयन्त्रमा प्रभाव जमाएर बसेकाहरूसँग आफ्नो सम्बन्ध रहेको देखाउने गरेका छन् ।

आफूलाई सिद्धबाबा, स्वामी कृष्णदास नामले चिनाउने कृष्णबहादुर गिरीले पनि नेतासँगको सम्बन्ध देखाएर प्रभाव जमाएका थिए । २०६५ मा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री छँदा चतरा धाममा यिनै गिरीले भैंसी पूजा गराएका थिए । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू ओली, माधवकुमार नेपाल, शेरबहादुर देउवा गिरीको कार्यक्रमका अतिथि बन्न छुटेनन् । २०७५ सालमा लगाइएको महायज्ञका पाहुना थिए, तत्कालीन राष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री नेपाल, देउवा र हालका राष्ट्रपति रामचन्द्र पौडेल । २०७६ सालमा गिरी एक अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परे । यो अभियोगबाट जोगिन पनि उनले राजनीतिक र प्रशासनिक शक्ति निकै उपयोग गरे । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले एकपक्षीय सुनुवाइ गर्दै गिरीलाई थुनामुक्त गरिदिए ।

यद्यपि उक्त फैसला नमिलेको ठह¥याउँदै उच्च अदालत विराटनगरले पुनः तथ्य केलाएर फैसला गर्न भनेपछि मुद्दा विचाराधीन छ । अहिलेका भाइरल बाबाहरूले समेत यही सिको गरेका छन् । भुजेलले गृहमन्त्री श्रेष्ठदेखि पूर्व मन्त्री प्रेम आलेसम्मलाई भेटेको भन्दै भिडिओ पोस्ट गरेका छन् । त्यसमा उनले असार २७ गते आलेलाई एलिस रेस्टुरेन्टमा भेटेको विवरण छ । भट्टराईको पनि नेपाली कांग्रेसका नेताहरूसँग विशेष उठबस देखिन्छ । गत जेठ ४ मा टिकटकमा राखिएको भिडिओमा कांग्रेस नेता जगदीशनरसिंह केसीले सीमान्तलाई खादा पहि¥याएर निवासमै स्वागत गरेका छन् । २०७९ चैत १ गते गण्डकी प्रदेश सभा सांसद बिन्दुकुमार थापालाई पनि उपचारका क्रममा निवासमै भेटेको भन्दै सीमान्तले फोटो सार्वजनिक गरेका छन् । थापाले घरमै निम्त्याउनुभन्दा साता दिनअघि मात्रै कास्की जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य शिविर चलाउन भन्दै पोखरा आएका भट्टराईलाई कार्यक्रम गर्न रोक लगाएको थियो। उनले उपचार गर्ने भन्दै १२३ जनाबाट एक लाख २३ हजार रुपैयाँ उठाएको पाइएको छ ।

त्यसअघि फागुन २० गते त भट्टराईले सुर्खेतको जिल्ला समन्वय समिति (जिसस) भवनमै कार्यक्रम गरेका छन् । जिसस उपाध्यक्ष सचिनकुमार बडुवालले यसको पुष्टि गरे । गत जेठ ७ गते स्वास्थ्य शिविर गर्न भन्दै दाङ पुगेका भट्टराईलाई जिल्ला प्रशासनले रोक लगाएको थियो । त्यतीबेला, प्रशासनमा जानकारी नगराएको र उनको काम ढोंगी देखिएकाले कार्यक्रम आयोजना गर्न नदिइएको प्रहरि परिसरले जानकारी गराएको थियो । तर, त्यसअघि उनले दाङमै धेरै पटक यस्तो कार्यक्रम गरिसकेका थिए । रोग र शोकले थलिएकाहरूलाई यस्तै अन्धविश्वासमा पारेर उनीहरूको स्वास्थ्यमा खेलबाड गर्नेहरूलाई भने नियामक निकायहरू नदेखेझैं गरिरहेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता रिजाल यस्ता व्यक्ति विरुद्ध उजुरी नपरेकाले ठोस कारबाही अघि बढाउन नसकिएको दाबी गर्छन् ।

तर, २०७२ ताका ज्योतिर्विद्याका नाममा सामाजिक सञ्जाल मार्फत भूकम्पबारे भ्रामक सन्देश फैलाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो जसले इच्छाशक्ति भए नियमन गर्न प्रहरीलाई औपचारिक उजुरीको खाँचो नहुने पुष्टि गर्छ । २०७६ मा पनि यस्तै सूचना फैलाएर मानिसलाई आतङ्कित बनाएको भन्दै ज्योतिषी अर्जुन क्षेत्रीलाई पक्राउ गरिएकोमा काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको थियो । उनले जेठ २९ गते भूकम्प आउने भविष्यवाणी गरेका थिए ।नेपालमा समेत वेलाबखत उपचारका नाममा झाँक्रीको पिटाइबाट मानिसहरूको मृत्यु हुने गरेको छ ।

यस बाहेक झाँक्री र कथित धार्मिक गुरुको भरमा अल्झिँदा सही उपचार नपाएर मृत्युवरण गरिरहेकाहरूको संख्या पनि धेरै हुन सक्छ । यस्ता मृत्युहरूको अभिलेख कहीँकतै भेटिंदैन । सामाजिक सञ्जाल मार्फत सूचना फैलाएर धर्मका आवरणमा सर्वसाधारणको स्वास्थ्य र सम्पत्तिमा खेलबाड भइरहेका यस्ता घटनामा राज्य संयन्त्र भने मूकदर्शक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group